
काठमाण्डु, १४ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेललाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बस्न प्रस्ताव गरेका छन् ।
प्रचण्डले गजुरेललाई बुधबार खुमलटार बोलाएर राजनीतिक सल्लाहकार बस्न भनेका थिए । तर, आफूले बाहिरै बसेर सरकार सफल पार्न भूमिका खेल्ने जवाफ गजुरेलले दिए । गजुरेलले आफूलाई प्रचण्डले सल्लाहकार भएर सरकार सफल पार्न सहयोग गर्न भनेको बताए । तर, आफूले सरकारको जिम्मेवारीमा नभई पार्टीमा कार्यकारी भूमिमा दिन भनेको उल्लेख गरे ।
‘उहाँले सल्लाहकार भएर मलाई र सरकारलाई सफल पार्न सहयोग गर्नुस् भन्नुभएको थियो’, गजुरेलले भने, ‘तर, मैले पार्टीको कार्यकारी जिम्मेवारीमा बसेर सरकारलाई बाहिरैबाट सहयोग गर्छु, सुझाव सल्लाहहरु दिन्छु भनेको छु ।’ पहिलो संविधानसभा निर्वाचनपछि ०६४ मा प्रचण्ड नेतृत्वको सरकार असफल हुनुमा पार्टीभित्रको भद्रगोलले काम गरेको स्मरण गर्दै उनले पार्टीको भद्रगोल नसम्हालेसम्म सरकार सफल हुन नसक्ने उल्लेख गरे ।
गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन चाहन्थे । तर, लेखनाथ दाहालले टिकट पाएपछि असन्तुष्ट थिए । चुनावी अभियानमा समेत निस्क्रिय बसेका गजुरेले भोट हाल्न भने गएका थिए ।