गठबन्धन भत्किएको विषयमा केन्द्रीय समिति बैठकमा समीक्षा हुन्छ: कोइराला

काठमाण्डु टुडे २०७९ पुष १३ गते १८:४१ मा प्रकाशित

काठमाण्डु,१३ पुस– काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् । उनले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताएका छन ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताएका छन ।

उनले भने,‘कारबाही गर्ने कुरा कसले भनेको छ रु के मा कसरी कारबाही गर्ने रु मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ तर, कारबाही भन्ने कुरा हुँदैन । ’

उनले काँग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र काँग्रेसको पनि कमजोरी रहेको बताएका छन । ‘मैले के भने भन्ने कुरा महत्वपूर्ण होइन ।

प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरुले फाइनल गर्नुपर्थ्यो, उहाँहरू चुक्नु भएको छ,’ कोइरालाले भने, ‘राष्ट्रपति लिएर सहमति गरेको भएपनि हुन्थ्यो होला ।’

कोइरालाले काँग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताएका छन । उनले भने,‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं । ’

गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो ।

कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ उनले भने । अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो ।

सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्नुभन्दा नीति अधिवेशन गर्नैपर्नेमा जोड दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us