बन्दुक र खुकुरी लिएर धाकधम्की दिने दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ४ गते ८:४५ मा प्रकाशित

सोलुखुम्बु, ४ पुस– सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन् ।

माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार सोलु दूधकुण्ड नगरपालिका–१ छिर्दीस्थित निर्माणाधीन पुलको कामदारलाई धाकधम्की दिँदै गरेको अवस्थामा राईद्वयलाई प्रहरीद्वारा पक्राउ गरिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us