अबको एक सातामा देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाण्डु टुडे २०७९ पुष ३ गते १८:१४ मा प्रकाशित

काठमाण्डु,३ पुस– मुलुकले अबको एक साता अर्थात् पुस १० गते आइतबार साँझ ५ बजेभित्र नयाँ सरकार पाउने भएको छ ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनैपनि राजनीतिक दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार पुस १० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

राष्ट्रपतिको यो आह्वान र संविधानको व्यवस्था अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने जो सुकै प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री बन्न सक्नेछ ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रमुख राजनीतक दल र नेताहरु नयाँ सरकार गठनमा केन्द्रित भएका छन ।

त्यसका लागि उनीहरुले प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये साधारण बहुमत अर्थात १३८ जनाको समर्थन रहेको कुरा राष्ट्रपति समक्ष तोकिएको समयभित्र दावी पेस गर्नुपर्नेछ ।

त्यस्तो प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । त्यसरी राष्ट्रपतिबाट नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

यो अवस्थामा नयाँ सरकार गठनका लागि हाल सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले पहिलो प्रयास गर्नेछन् । सत्ता गठबन्धनमा १३६ सांसद रहेको छन् ।

त्यो बाहेक २ सिटको हुन्छ । यता विपक्षी गठबन्धनमा रहेको एमाले समेत निर्वाचनको नतिजापछि अर्को गठबन्धन बनाएर सरकार बनाउने भित्री प्रयासमा लागेको देखिन्छ ।

सत्ता गठबन्धनले बहुमत पुर्याउँन असफल भए आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने एमाले चाहनाअनुसार उसले विभिन्न दलका नेताहरूसँग भेटघाट र संवाद गरिरहेको छ ।

आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग संवाद गर्ने कांग्रेसको निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us