
काठमाण्डु,२६ मंसिर– एमालेले राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।
एमाले उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी सरकारले ल्याएको अध्यादेश गलत रहेको बताएका छन ।
रिमालले ‘संविधानको रक्षा गर्छौं’ भनेर चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैंमा गलत भएको बताए ।
उनले एमालेले त्यसको सशक्त विरोध गर्ने समेत स्पष्ट पारेका छन । राजनीतिकलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत शासन गर्छु भन्नु नै गलत भएको बताएका छन ।
उनले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नै नभएको बताएका छन । उनले नयाँ सांसदहरु चुनिएर आएकाले वर्तमान सरकारले मुलुकमा दूरगामी महत्वको कुनै पनि काम गर्न नमिल्ने बताएका छन ।
उनले भने, ‘यो सतप्रतिशत काम चलाउन सरकार हो अहिले । भलै भोलि उहाँहरू नै प्रधानमन्त्री र मन्त्री हुनुहोला । तर अहिले उहाँहरूको हैसियत भनेको काम चलाउ हो ।
काम चलाउ सरकारले दूरगामी महत्वको कुनै पनि काम गर्नु हुँदैन’ चाँडै नै नयाँ संसद बन्दैछ । नयाँ सांसदहरु चुनिएर आइसकेका छन । पहिलेका सांसदहरु भूतपूर्व भइसकेका छन् ।
यस्तोमा चाहिँ अध्यादेशमार्फत शासन गर्छु भनेर सोच्नुनै आफैंमा गलत हो ।’ उनले एमालेलाई हराउँदा प्रतिगमन हराएको भन्नेहरूले नै संविधानको भावनामा असर पुग्ने गरी यो काम गर्न नहुने बताएका छन ।
‘त्यो मन्त्रिपरिषदले निर्णय गरेको छ भन्ने हामीले सुनेका छौं । राष्ट्रपति कहाँ पुगे, नपुगेको थाहा छैन । मिडियामा आएको छ । यो काम गर्नु नै गलत हो’, उनले भने, ‘पहिला जुनसुकै किसिमको होस् ।
पहिलो कुरा अहिले यतिखेर अध्यादेश नै ल्याउनुहुन्न । यो ल्याउनु आफैंमा गलत काम हो । यो तहको सरकारले अहिले यो ल्याउन मिल्दैन । यो असंवैधानिक हो ।’
उनले वर्तमान गठबन्धन सरकार कायमै रहे मुलुकले धेरै नकारात्मक कुराहरू भोग्नुपर्ने र लोकतन्त्रप्रतिको वितृष्णा झनै बढेर जाने आरोप समेत लगाए ।