कामचलाउ सरकारले दूरगामी महत्त्वको निर्णय गर्न मिल्दैन: गगन थापा

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १६:०७ मा प्रकाशित

काठमाण्डु,२६ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको विरोध गरेका छन् ।

पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको बताउँदै उनले सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन ।

उनले अहिलेको सरकार कामचलाउ भएको र यसले दूरगामी महत्त्वको निर्णय गर्न नमिल्ने बताएका छन । उनले भनेका छन्, ‘ अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।’

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ।

यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकि विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।

अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us