
काठमाण्डु,२६ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।
उनले भने, पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ ‘यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ ।
यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’ थापाले अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नसक्ने बताएका छन् ।
उनले भने, ‘यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अघि बढाउन सक्छ ।’
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।