
काठमाण्डु,२५ मंसिर– मोरङ–५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी भएका योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्न लागेको कुरा हल्ला निराधार र असत्य रहेको बताएका छन् ।
एमालेबाट एकल रुपमा उम्मेदवार सिफारिस भए पनि जसपासँगको सहमतिपछि एमालेले उनलाई टिकट नदिइ जसपाका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो ।
त्यसपछि असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले भने, मेरो सबै पार्टीसँग सम्बन्ध राम्रो छ ‘काँग्रेसमा प्रवेश गर्न लाग्यो भनेर हल्ला भएको मैले पनि सुनेको छु, यो असत्य कुरा हो ।’
आफूले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न तयार हुनेलाई भने सरकार गठनको लागि बाहिरै बसेर समर्थन गर्ने उनले बताएका छन ।
‘म काठमाण्डुमा गएर सबै पार्टीका अध्यक्षहरूलाई भेट्ने योजना बनाएको छु,’ उनले भने, ‘अहिले पनि सबै पार्टीका नेताहरूले भेटका लागि निमन्त्रणा गरिरहनुभएको छ । काठमाडौं गएर भेट्छु ।’
नेताहरूलाई भेटेर आवश्यक सल्लाह, सुझाव लिने पनि उनले बताए । मण्डलले निर्वाचनको समयमा काँग्रेस नेता डा शेखर कोइराला, अमृत अर्याल लगायतसँग काँग्रेस प्रवेश गर्ने गरी सहमति गरेको चर्चा छ ।
त्यसबारेमा भने मण्डलले आफूले कसैसँग निर्वाचनको बेला नभेटेको र कुनै सहमति नभएको पनि बताएका छन् । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी भएका थिए ।
उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । मण्डलले १७ हजार ४८६ र एमालेको समर्थनमा उम्मेदवार बनेका जसपाका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए ।