घनश्याम भुसालसहित १३ जना एमालेबाट निष्काशित, भीम रावलमाथि भएन कारबाही

काठमाण्डु टुडे २०७९ मंसिर २४ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– एमालेले घनश्याम भुसालसहित १३ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा भुसाल, प्रभु साहसहित नेतालाई निष्काशनको कारबाही गरेको हो । भुसाल र साह दुवै स्थायी समिति सदस्य हुन् ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा भुसाल र साहसहित केन्द्रीय सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी सत्गौवा, र टेकबहादुर बलम्पाकी छन । यस्तै केन्द्रीय निकायका वाङ्दी शेर्पा खेम सुवेदी, भक्तबहादुर अधिकारी र लक्ष्मी साह र जैवन जैतुनलाई पनि एमालेले कारबाही गरेको छ ।

जैतुनको नाम एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा थियो । तर, निरन्तर पार्टीका पछिल्ला नीति र नेतृत्वबारे सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता भीम रावललाई भने एमालेले कारबाही गरेको छैन । अध्यक्ष केपी ओलीले ४ मंसिरको निर्वाचनमा अछामबाट टिकट नदिएपछि रावल असन्तुष्ट छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा ओलीले रावल एमालेमा नभएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us