
एजेन्सी– कंगोमा विद्रोही आक्रमणमा कम्तिमा १ सय ३१ नागरिकको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यो नोभेम्बर महिनाको तथ्याङ्क हो । विद्रोही समूह एम–२३ को आक्रमणमा ती मानिस मारिएको राष्ट्र संघको एक अनुसन्धानले औंल्याएको हो । प्रतिवेदनका अनुसार कंगोको पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो गाउँमा उक्त नरसंहार भएको थियो ।
विद्रोहीहरूले सरकारबाट भएको दमनको जवाफ स्वरुप उक्त घटना गराएको निस्कर्ष राष्ट्रसंघ प्रतिवेदनको छ । यद्यपि विद्रोही समूह एम–२३ ले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
मृत्यु हुनेमा १ सय २ पुरुष, १७ महिला र १२ बालबालिका छन् । यस्तै ५ बालबालिकासहित २७ महिला बलात्कृत भएका छन् ।