
काठमाण्डु, २४ मंसिर– माओवादी केन्द्रबाट खासआर्य पुरुषबाट हितराज पाण्डे समानुपातिक सांसद बन्ने भएका छन् ।
निर्वाचन आयोगमा माओवादीले बुझाएको समानुपातिक सूचीमा पाण्डेको नाम पहिलो नम्बरमा छ । गोरखाका पाण्डे ०७० मा दोश्रो संविधानसभा सदस्य थिए । पाण्डेलाई प्रतिनिधिसभामा पठाउने निर्णय करिब भएको एक नेताले जानकारी दिए ।
समानुपातिकमा १४ सांसद पाएको माओवादीले १२ महिला र २ पुरुष पठाउनुपर्छ । आजै सूची बुझाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । अर्का पुरुषबारे भने निर्णय हुन बाँकी छ ।
आयोगमा बुझाइएको सूचीमा माओवादीबाट आदिवासी जनजातितर्फ अजम्बर राई काङमाङ, थारूमा सुनिल भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वरराय यादव र मुस्लिममा हकिकुल्लाह खाँको नाम एक नम्बर छ । पहिलो नम्बरमा भएका मध्येबाट एक जनाको नाम सिफारिस गरिने उपाध्यायले बताए ।