
काठमाण्डु,२३ मंसिर– सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा गरीएको हो ।
सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु रहेका छन् ।
सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ ।
नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने बताएका छन ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए ।