

काठमाण्डु,२१ मंसिर– एमाले टिकट छोडेर रौतहट–३ बाट स्वतन्त्र संसद भएका प्रभु साहको समूह सरकारमा जान सत्ता गठबन्धनका नेताहरुसंग भेटघाट बढाएका छन् ।
प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह सरकारमा जाने भएका छन ।
साह आफ्नै नेतृत्वमा पार्टी बनाएर सत्ता गठबन्धन नेतृत्वको सरकारमा जाने तयारी गरेका छन । ‘प्रभु जीहरुलाई माओवादी सहित सत्ता गठबन्धन सघाएर निर्वाचित हुनुभयो ।
उहाँहरु सरकारमा जान नेताहरुसंगको भेटघाटमा हुनुहुन्छ’ एक माओवादी पदाधिकारीले भने,‘कुन मन्त्रालय कति जना जाने भन्ने फिक्स छैन । उहाँ सरकारमा जान सकारात्मक हुनुहुन्छ ।’
साहले माओवादी अध्यक्ष प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित कांग्रेसका नेताहरुलाई समेत भेटघाटगरी सकेका छन् ।
माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमै फर्किने तयारी गरेको बताउँदै आएका छन् ।
यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् । साहले लगातार चार पटक निर्वाचन जितिसकेका छन् । उनले तीन निर्वाचन माओवादीबाट र एक स्वतन्त्रबाट जितेका हुन् ।