
काठमाण्डु,१६ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाण्डुलाई छानबिनका लागि पत्राचार गरेको हो ।
प्रहरी परिसर काठमाण्डु स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरेपनि केही बताउन चाहेको छैन । अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।
छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ ।
अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो ।