
काठमाण्डु, १३ मंसिर– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउने संकेत देखिएको छ ।
मंगलबार बिहानसम्म समानुपातिकतर्फ ९५ लाख ३६ हजार ९ सय ५१ मत गणना हुँदा २ लाख ९४ हजार ४ सय ३५ प्राप्त गर्दै जनमत पार्टी छैटौं स्थानमा रहँदै थे्रस होल्ड कटाउन अग्रसर भएको हो ।
एमाले २५ लाख ७५ हजार ८ सय ७७ मतसहित समानुपातिकमा पहिलो स्थानमा छ । नेपाली कांग्रेसले २४ लाख ४५ हजार ५ सय ८४ मतसहित एमालेलाई पछ्याइरहेको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ९४ हजार ६ सय ६ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६ सय ३५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३ सय ५०, जनता समाजवादी पार्टीले ३ लाख ५४ हजार २ सय ५२ र जनमत पार्टी २ लाख ९४ हजार ४ सय ३५ प्राप्त गरेको छ ।
नेकपा एकीकृत समाजवादीले भने २ लाख ६३ हजार ६ सय ९ मत मात्र प्राप्त गरेको छ । समाजवादी पार्टी राष्ट्रिय दल बन्ने प्रयासमा छ । प्रतनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ५९ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ६ निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।
दोलखाका १० मतदान केन्द्रमा १५ मंसिरमा पुनः निर्वाचन हुँदैछ भने सुनसरी र स्याङजाका एक÷एक तथा बाजुरामा मतगणना रोकिएको छ ।