गगन थापाविरुद्ध विनोद चौधरीको उजुरी, कारबाही गर्ने देउवाको जवाफ

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते ९:०२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– अर्बपति एवं नवनिर्वाचित काँग्रेस सांसद विनोद चौधरीले पार्टी महामन्त्री गगन थापामाथि कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

चौधरीले चुनावमा स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाएको भन्दै थापाविरुद्ध उजुरी दिएका हुन् । चौधरीले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार बालुवाटारमा भेटेर गगनले चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही माग गरेका हुन् ।

चौधरी नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीविरुद्ध स्वतन्त्र पार्टीका महेन्द्र सिंह ठकुरी उम्मेदवार थिए । चौधरी २९ हजार ५ सय १९ मतसहित विजयी भएका थिए । ठकुरीले १२ हजार ४ सय ९९ मत ल्याएका थिए ।

चौधरीले गगन थापा समूहका व्यक्तिले ठकुरीलाई सहयोग गरेको प्रमाण आफूसँग रहेको बताएका थिए । यस्तै उनले काठमाण्डु–४ मा घण्टीले उम्मेदवारी फिर्ता लिएर गगनलाई समर्थन गरेको बताए । यस्तै चितवन–२ बाट पराजित राज्यमन्त्री उमेश श्रेष्ठ र काठमाण्डु–६ बाट पराजित भिमसेनदास प्रधानले पनि गगनले काँग्रेसमाथि अन्तर्घात गर्दै घण्टीका उम्मेदवारलाई संगठित रुपमै सघाएको भन्दै देउवासँग उजुरी गरेका छन् ।

माओवादी केन्द्रले पनि डा. शेखर कोइराला र गगन थापा समूहले आफ्ना उम्मेदवारलाई हराएको आरोप लगाएको छ । गगनबारे गुनासो सुनेपछि देउवाले छानबिन गरी दोषी भेटिए कारबाहीको विषय बनाउने बताएको बालुवाटार श्रोतले जनायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us