
एजेन्सी– रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । मस्कोले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको केवल न्युज नेटवर्क सिएनएन ले बताएको छ ।
आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रुस पछि हटेको छ । युक्रेनी अधिकारीहरूले भने रूसी घोषणाप्रति आशङ्का व्यक्त गरेका छन् ।
रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।
उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणामस्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् ।
करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले दाबी गरेका छन् ।
युक्रेनमाथि रुसले गरेको आक्रमणलाई गम्भीर गल्ती भन्दै उनले त्यसको मूल्य वर्षौँवर्षसम्म राष्ट्रहरूले चुकाउनुपर्ने उल्लेख गर्दै युद्धका कारण एक करोड ५० लाखदेखि तीन करोड शरणार्थी बनेका छन ।