चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

काठमाण्डु टुडे २०७९ असोज ९ गते १०:२९ मा प्रकाशित

मोहन जोशी
धनगढी, ८ असोज । दसैँ तिहारमा बढी नै माग हुने खाद्य पदार्थमा चिनी पनि पर्छ । तर यहाँका सुपथ मूल्य पसलमा भने दुई वर्षदेखि चिनी बिक्री हुन छोडेको छ । पसलमा चिनी बिक्री हटाएसँगै ग्राहक पनि आउन छाडेका छन् ।

ग्राहकले सबैभन्दा बढी चिनी खोज्ने भए पनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोेरेसन लिमिटेडले भने गत वर्षदेखि चिनी बिक्री गर्न छोडेको हो । ‘चिनी भारतबाट ल्याउनु पर्ने भए पनि सरकारले अनुमति दिएको छैन् ।’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन, त्यसैले गत वर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो ।’ सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए । 

यता ग्राहक भने चिनीकै लागि सुपथ मुल्य पसलमा पुग्ने गर्छन । ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मूल्य सपलमा आएकी हुँ,’ धनगढी–५ हसनपुरकी सीता भट्टले भनिन्, ‘तर यहाँ चिनी रहेनछ, खाँली हात फर्कनु पर्याे ।’ चाडवाडमा साल्ट ट्रेडिङले चिनी उपलब्ध नगराएपछि भारतको वनगाउँ बजार जाने सोच बनाएको उनले बताइन् । 

‘चाडवाडमा धेरै चिनी चाहिन्छ,’ उनले भनिन्, ‘बनगाउँबाट ल्याउँदा नेपालमाभन्दा २० रुपैंया सस्तो पर्ने भएका कारण धेरै चिनी चाहिँदा त्यतै जाने गरेका छौं ।’ उनले भनिन् । वनगाउँ जान बाटोको समस्या हुने गरेका कारण साल्ट ट्रेडिङबाट चिनी किन्ने योजना बनाएको उनले बताइन् ।

तर, साल्ट ट्रेडिङले चिनी नदिएको र धनगढी बजारमा धेरै महंगो भएका कारण भारतको बनगाउँ जानु परेको उनले बताइन् । धनगढी बजारमा चिनीको मुल्य ९० रुपैंया प्रति किलो बिक्री भइरहेको छ । वनगाउँमा भने ६८ रुपैयाँ मै चिनी पाइने गरेको छ । सुपथ मूल्य पसलमा चिनी  सस्तोमा पाइदा बजारमा पनि मुल्य केही घट्ने गरेको थियो ।

साल्ट ट्रेडिङले धनगढी र गोदावरीमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । सो पसलबाट नून, चिउरा, खाने तेलमा छुट दिने गरेको छ । साल्ट ट्रेडिङका सूचना अधिकारी रामचन्द्र जोशीका अनुसार नूनमा दुई रुपैंयाँ छुट दिएर प्रति किलो १८ रुपैयाँमा बिक्री भइरहेको छ  । एक जनालाई एक दिनमा बढीमा ६ किलो नून दिने गरिएको छ ।

यसैगरी, चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिएर ८८ रुपैयाँमा बिक्री भइरहेकाे छ भने स्वस्तिक तोरीको तेलमा प्रति लिटर सात रुपैयाँ छुट दिएर तीन सय पाँच रुपैंयामा बिक्री गर्ने गरिएको जोशीले बताए । जोशीका अनुसार एक दिनमा एक जनालाई चिउरा चार किलो र खानेतेल चार लिटरसम्म दिइने गरिएको छ ।

पहाडमा सञ्चालन भएन सुपथ मूल्य पसल 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत बर्षसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएकोमा यस वर्ष भने तराईलाई मात्रै केन्द्रित गरेर सञ्चालन गरेको छ ।

साल्ट ट्रेडिङकाे केन्द्रीय नीतिका कारण पहाडी क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको जनाइएको छ । ‘केन्द्रबाट हरेक दिन कम्प्युटर बिलसहित कारोवारको विवरण माग गरिएको छ,’ साल्ट ट्रेडिङ प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी जोशीले भने, ‘पहाडी क्षेत्रमा कम्प्युटरको समस्याका कारण बिलिङ गर्न नसकिने भएपछि धनगढी र गोदावरीबाट मात्रै सुपथ मुल्य पसल सञ्चालन गरिएको हो ।’ 

खाद्यको चामलमा  सात रुपैयाँ छुट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलमा प्रतिकिलो सात रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय र धनगढी–१३ स्थित मोहनपुरको गोदाममा सुपथ मूल्य पसल सञ्चालन गरेर चामल बिक्री गरिरहेको कम्पनीकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् । 

उनका अनुसार मोटो चामल सहुलियतसहित ३९ सय रुपैयाँ प्रति किलोका दरले बिक्री भइरहेको छ । यसैगरी मसिनो चामल (स्टिम जिरा) ६० रुपैयाँ प्रतिकिलो र बास्मती चामल एक सय तीन रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । बिहीबारसम्म ३० क्वीन्टल चामल बिक्री भइसकेको प्रदेश प्रमुख बस्नेतले बताइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us