कुलमान घिसिङले विद्युत प्राधिकरण छाड्दै, काठमाण्डु–३ बाट चुनाव लड्ने तयारी

काठमाण्डु टुडे २०७९ असोज ५ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, ५ असोज– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाण्डु क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने भएका छन् ।

घिसिङ नेकपा माओवादीका तर्फबाट काठमाण्डु–३ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने अन्तिम तयारीमा छन् । माओवादी उच्च श्रोतका अनुसार घिसिङले अबको केही दिनमा कार्यकारी निर्देशकबाट राजीनामा दिने छन् ।

घिसिङकै लागि गठबन्धन आवद्ध अन्य दलसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डु–३ मागेका छन् । घिसिङले काठमाण्डुबाट भन्दा गृहजिल्ला रामेछापबाट चुनाव लड्ने रुची देखाएका थिए । तर, रामेछापमा नेता व्यवस्थापन जटिल हुने भएपछि माओवादीले काठमाण्डु–३ बाट उम्मेदवार बनाउने भएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड दोश्रो कार्यकालमा प्रधानमन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । प्रचण्डको दबाब र तत्कालीन ऊर्जमन्त्री वर्षमान पुनको प्रयासका बाबजुद एमाले अध्यक्ष केपी ओलीले कार्यकाल थप्न अस्वीकार गरेका थिए ।

ओली सरकारले कार्यकाल नथपेपछि घर गएका घिसिङ वर्तमान गठबन्धन सरकार बनेपछि फेरि माओवादी पहलमै प्राधिकरण फर्किएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us