काठमाण्डु, १९ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउने एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।
ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन गएका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड शेरजंग कुँवरले लाइनमा बस्न भनेका थिए । काठमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराले मन्त्रीमाथि अभद्र व्यवहार गरेकाले सुरक्षा गार्ड कुँवरलाई पक्राउ गरिएको पुष्टि गरे । उनीविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
सर्वसाधारण लाइनमा बसिरहेका बेला मन्त्री श्रेष्ठ बायोमेट्रिक गराउन गएका थिए । उनले लाइन मिचेपछि कुँवरले लाइनमा बस्न निर्देशन दिएका थिए । तर, मन्त्री श्रेष्ठसँगै रहेका सरकारी पीएसओले उनी मन्त्री भएकाले जान दिन भने । तर, कुँवरले मानेनन् ।
उनले ‘मन्त्रीसन्त्री चिन्छन्, जो भए पनि लाइनमा बस्नुपर्छ’ भन्ने श्रेष्ठलाई रोकेका थिए । कुँवरको जवाफपछि मन्त्री श्रेष्ठ र पिएसओलले उनीसँग बाझाबाझ गरेका थिए । पर्यटन मन्त्रालयले आफ्ना मन्त्रीमाथि दुव्र्यवहार गरेको भन्दै कुँवरविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी दिएको थियो ।