काठमाण्डु, १७ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन–३ बाटै उम्मेदवार बन्ने बताएका छन् ।
पार्टीको कर्णाली प्रदेश प्रशिक्षण कार्यक्रममा प्रण्डले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै चितवन–३ मा चुनाव उठ्ने निश्चित भएको स्पष्ट गरे । ‘मैले पहिले पनि भनेको छु, चितवन–३ छोड्दिन’, उनले भने । प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा पनि चितवन–३ बाटै निर्वाचित भएका थिए ।
उनले सत्ता गठबन्धनबीच सिट बाँडफाँट सहमति नजिक पुगेको उल्लेख गरे । क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको उनको भनाइ थियो । प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो असहमति नभएको दाबी गरे ।