
काठमाण्डु, ९ भदौ– काठमाण्डु महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरु गरेको अभियान हिजो काठमाण्डु मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो ।
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो ।
मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाण्डु मलको दुईतले बेसमेन्ट भत्काएको हो । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भत्काउन पुगेका थियो ।
कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरू गरेको बताए । ‘डबल पार्किड स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हो’, कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाण्डु मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो । नेपाल समाचारपत्रबाट