
काठमाण्डु, ८ भदौ–आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ ।
देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।
राईले भने ‘सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सामग्री खरिद तथा तलब भत्ता र खाना खर्चका लागि बजेट माग गरिएको हो’, उनले निर्वाचन सुरक्षा अत्यन्तै संवेदनशील विषय भएकाले न्यूनतम सुविधा दिन सके सुरक्षाकर्मीको मनोबल उच्च हुने बताए ।
बजेट माग गरिएकोमध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीबाट खटिने सुरक्षाकर्मीका लागि नियमित तलब, दैनिक भत्ता, खाना तथा खाजा खर्चका लागि चार अर्ब ९६ करोड रुपियाँ माग गरिएको छ। निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरीलाई मतदान केन्द्रसम्म पु¥याउन र ल्याउनका लागि एक हजार ३ सय ७८ साना सवारीसाधन (पिकअप) सहित १ सय १६ वटा बस भाडामा लिने तयारी भइरहेको जनाइएको छ ।
निर्वाचन स्थलको सुरक्षा गस्ती तथा उम्मेदवारको सुरक्षार्थ खटिने प्रहरीका लागि एक हजार ५ सय ९८ वटा मोटरसाइकल आवश्यक पर्ने जनाइएको छ । गोरखापत्रबाट