एमालेका लागि चुनाव चुनौतीपूर्ण

काठमाण्डु टुडे २०७९ भदौ ८ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् ।

यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन् ।

स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए । सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ । स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा केही नेताले सत्तारुढ दलबीच गठबन्धन नभए एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय हाराहारी स्थानमा जित्ने बताएका थिए । उनीहरूले समानुपातिक निर्वाचनतर्फ पनि पार्टीले अग्रस्थान जित्ने आधार पेस गरेका थिए ।

बैठकमा अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एक्लै जानुपर्ने भएकाले कडा प्रतिस्पर्धाका लागि तयार रहन निर्देशन दिएपछि प्रदेश इन्चार्जहरूले पार्टीको बहुमत आउने ब्रिफिङ गरेका हुन् ।

प्रदेश १ बाट देवराज घिमिरे, मधेस प्रदेशबाट रघुबीर महासेठ, वाग्मती प्रदेशबाट काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशबाट छविलाल विश्वकर्मा, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्टले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us