नागरिकता विधेयक राष्ट्रियसभामा रोकियो

काठमाण्डु टुडे २०७९ भदौ ७ गते ७:४१ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– नेपाल नागरिकता (पहिलो संशोधन विधेयक–२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ ।

प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो ।

शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ । तर प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि नै बोलाइएको छ ।

राष्ट्रपतिसमक्ष दुवै सदनले पारित गरेको नागरिकता विधेयक यसअघि गत साउन १४ गते प्रमाणीकरणका लागि पठाइएको थियो । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै गत साउन २९ गते संसझै फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले नागरिकता विधेयकको संवेदनशीलतालाई औंल्याउँदै केही पक्षमा पुनर्विचार गर्न पठाए पनि प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरेको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us