पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै संसदीय समितिमा निवेदन

काठमाण्डु टुडे २०७९ भदौ ३ गते १५:५० मा प्रकाशित

काठमाण्डु, ३ भदौ– अन्तर्राष्ट्रिय बजारमा निकै सस्तो भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै संसदीय समितिमा उजुरी परेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिन आग्रह गर्दै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निवेदन दिएको हो । निवेदनमा निगमले बेइमानी र कपटपूर्ण व्यवहार गरी उपभोक्ता ठग्ने काम गरेको आरोप लगाइएको छ ।

समितिले तत्काल पहल लिएर मूल्य घटाएर नागरिकलाई राहत दिलाउनुपर्ने माग गरिएको छ । मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनद्वारा दर्ता गरिएको निवेदनमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियमको मूल्य घटे पनि आयाल निगमले नघटाउनु उपभोक्ता अधिकारमाथि खेलबाड भएको उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य तीन महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत बिगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ’, निवेदनमा भनिएको छ, ‘तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन ।’

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित प्रणाली भन्दै बढाउने तर, मूल्य घट्दा नघटाउने गरिएकामा आपत्ति जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us