माधव नेपाललाई बाबु समान भन्दै पार्टी नछाड्ने रामकुमारी झाँक्रीको घोषणा

काठमाण्डु टुडे २०७९ भदौ २ गते १७:०५ मा प्रकाशित

काठमाण्डु ,२ भदौ– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूले पार्टी छाड्न लागेको भन्ने हल्ला गलत भएको बताएकी छन् ।

एमालेबाट विद्रोह गरेर पार्टी गठन गरेको एक वर्षपछि बिहीबार सामाजिक सञ्जालमार्फत उनले भ्रममा नपरी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्न पार्टी पंक्तिलाई अपिल गरेकी छन् ।

‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार र विचार आएको देख्छु, यो कुरा गलत हो,’ झाँक्रीले लेखेकी छन्, ‘देशैभरिका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनसमेत अनुरोध गर्न चाहन्छु ।’ उनले माधव नेपाललाई आफ्नो पिता समानका नेता भएको उल्लेख गरिन् ।

‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो’, उनले लेखेकी छन्, ‘हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो ।’

झाँक्रीले संविधान बचाउन, सात दशक लामो संघर्षको उपलब्धीको रक्षा गर्न, वर्तमान राजनीतिक प्रणाली बचाउन र नेपालको राजनीतिलाई जनचाहनाअनुसार सञ्चालन गर्न आफूहरुले विद्रोह गरेको स्मरण गरिन् । झाँक्रीले उपलब्धीको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय आएको भन्दै आसन्न निर्वाचन गठबन्धनमै अगाडि बढ्ने संकल्प आफूहरुको रहेको स्पष्ट गरिन् ।

‘गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गतिदिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ’, उनले लेखेकी छन्, ‘आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us