राजतन्त्र बोकौं भन्ने रवीन्द्र मिश्र बेइमान हुन, हामी पार्टी पुनर्गठन गछौैंः पाण्डे

काठमाण्डु टुडे २०७९ साउन २९ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पूर्वअध्यक्ष रविन्द्र मिश्रमाथि राजनीतिक बेइमानीको आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पाण्डेले मिश्रले राजतन्त्रको नारा लगाएर आममानिसको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी गरेको बताए । मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने शीर्षकमा ल्याएको दस्तावेजमा राजतन्त्रको एजेण्डा छ । पाण्डेले उक्त कार्यका लागि मिश्रसँग इतिहासले हिसाब माग्ने टिप्पणी गरे । स्थानीय निर्वाचनमा पार्टीले लज्जाजनक पराजय भोगेपछि अध्यक्षबाट राजीनामा दिएका मिश्रले फेरि नेतृत्व लिन चाहेकामा पनि उनले आपत्ति जनाएका छन् ।

‘विेकशील साझा पार्टीमा ‘विचारभन्दा माथि देश’ दस्ताबेज आएलगत्तै उक्त दस्ताबेज संविधानविरोधी, वैकल्पिक राजनीतिको मर्मविरोधी, युवा तथा परिवर्तनविरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो’, पाण्डेले लेखेका छन्, ‘पार्टी स्थापनाको मर्मविपरीत ल्याइएको उक्त दस्तावेजले आमनागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो । यसको हिसाबकिताब इतिहासले राख्नेछ ।’ मिश्रलाई पाण्डेले पार्टीको स्थापना राजतन्त्र ब्युँतानका भएको थियो भन्दै प्रश्नसमेत गरेका छन् ।
‘के हाम्रो पार्टीको स्थापना राजतन्त्र’ ब्यूँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहिनेत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन’। उनले लेखेका छन् ।
वैकल्पिक राजनीतिमाथि घात भएकाले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको निस्कर्ष पा(डेले निकालेका छन् । पाण्डेले विवेकशील साझा पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी गरी दुई विचार समूह अस्तित्वमा रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्मअनुसार अघि बढिरहेको दाबी गरे । उनले पार्टी स्थापनाको मर्मविपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई नभएको स्पष्ट गरे ।

मिश्रले केही दिनअघि एमालेमार्फत केन्द्रीय सदस्यहरुलाई पार्टी पुनः आफ्नै नेतृत्वमा नआए निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भन्दै कार्यालयमा राखिएको पुस्तिका वा डिजिटल हस्ताक्षर उपलब्ध गराउन आग्रह गरेका थिए । पाण्डेले त्यसको पनि विरोध गरेका छन् । ‘हामी सम्पूर्ण साथीहरूलाई सोध्न चाहन्छौँ पार्टी बचाउने भनेको के हो ? निर्वाचन आयोगमा दर्ता गर्नु र फेरि मार्ग परिवर्तनकै लाइनमा उभिएर झगडा गर्नु पार्टी बचाउनु हो र ? वा, पार्टीलाई स्पष्ट विचार र एजेन्डासहित अगाडिबढाउनु चाहिं पार्टी बचाउनु हो ? पार्टी बचाउनु भनेको स्पष्ट विचारसहित, स्पष्ट दिशा सहित अघि बढ्नु हो । हाम्रा लागि नागरिकको अवस्था बदल्नु र नागरिकलाई बलियो बनाउनको लागि गरिने राजनीति नै पार्टी बचाउनु हो । त्यो अवस्थामा पार्टी नफर्कने हो भने, पार्टी बच्न सक्दैन’, उनले लेखेका छन् ।

कमजोर जग र बाङ्गिएको खम्बाहरूमा बलियो र परिपक्व घर बन्न नसक्ने तर्क गर्दै पाण्डेले पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व आफुहरुको काँधमा आएको बताए ।

वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्यपछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्ने उनले बताए । पाण्डेले छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us