
काठमाण्डु, २९ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री देउवासँगको राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा विधेयकमा समेटिएका केही बुँदाप्रति गम्भीर चासो व्यक्त गरेकी हुन् । बहुचर्चित नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १४ दिनदेखि विचाराधीन अवस्थामा राखेकी छन् । १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा विधेयकमा समेटिएका झन्डै एक दर्जन बुँदाहरूका सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी थिइन् । ‘नागरिकता विधेयकका विषयमा केही बुँदाहरू प्रतिध्यानाकर्षण भएको छ । यी बुँदाहरूमा ग्यारेन्टी लिन सक्ने हो भने प्रमाणीकरण गर्छु,’ राष्ट्रपति भण्डारीको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘अन्यथा संसद्मा फिर्ता पठाइदिन्छु । संसद्मा फेरि छलफल गरी केही प्रावधानहरू मिलाउनु भए हुन्छ ।’
नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति समक्ष पेस भएको विधेयक १६ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ । उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले व्यक्त गरेका बुँदाहरूमा प्रधानमन्त्री देउवाले गम्भीर नबनेकाले विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना बलियो छ ।
अन्नपूर्ण पोस्टबाट