नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने विश्वास दिलाएर आएँः खड्का

काठमाण्डु टुडे २०७९ साउन २६ गते २१:३७ मा प्रकाशित

काठमाण्डु, २६ साउन– परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणबाट फर्किएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन गएका मन्त्री खड्का तीन दिने भ्रमण सकाएर बिहीबार स्वदेश फर्किएका हुन् । चीन बसाएका क्रममा उनले समकक्षी वाङलगायत अधिकारीसँग भेटेका थिए ।

चिनियाँ समकक्षीसँगको भेटमा आफूले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा आश्वस्त तुल्याएको खड्काले बताए । अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेकोबारे पनि स्पष्ट गरेको उल्लेख गरे ।

‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरूद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु,’ मन्त्री खड्काले भने । मन्त्री खड्का मंगलबार चीन प्रस्थान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us