भदौ १२ देखि १९ सम्म मतदाता नामावली अद्यावधिक गरिने

काठमाण्डु टुडे २०७९ साउन २५ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २५ साउन– निर्वाचन आयोगले ४ मंसिरमा घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि समय तोकेको छ ।
आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि समय तोकिएको बताए ।
उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।
नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोग प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन घोषणा भएपछि निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य भने स्थगन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us