
काठमाण्डु, २४ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् ।
जापान भ्रमणमा रहेका उनले मंगलबार टोकियोमा त्यहाँस्थित सञ्चारकर्मीसँग कुरा गर्र्दै नागरिकता समस्या समाधानका लागि ल्याइएको विधेयक राष्ट्रपतिबाट फिर्ता होला भन्ने कल्पना आफूले नगरेको उल्लेख गरे । तराई मधेसका नागरिकका छोराछोरीको समस्या समाधानको प्रयासमा सरकार र संसदले विधेयक ल्याएको उनको भनाइ थियो । ‘नागरिकता समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास मलाई छैन’, उनले भने, ‘ उहाँले त्यसो गर्नु पनि हुन्न ।’
राष्ट्रपतिले फिर्ता गरेको अवस्थामा सरकारले फेरि अगाडि बढाउने पनि उनले स्पष्ट गरे । उनले यदि राष्ट्रपतिले विधेयक फिर्ता गरे राम्रो नहुने चेतावनी दिए । राष्ट्रपति भण्डारीलाई एमालेसहितका विपक्षी दल र केही व्यक्ति तथा समूहले विधेयक फिर्ता गर्न दबाब दिइरहेका छन् ।