बाबुद्वारा तीन वर्षीय छोराको हत्या

काठमाण्डु टुडे २०७९ साउन २३ गते २०:१२ मा प्रकाशित

बर्दिया, २३ साउन– बर्दियामा एक बाबुले आफ्ना तीन वर्षीय नाबालक छोराको हत्या गरेका छन् ।

प्रहरीले छोरा हत्या आरोपमा बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो । बर्दिया प्रहरीका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार बोहरा गत १६ साउनमा छोरा लिएर घरबाट फरार भएका थिए ।

परिवारले नाबालकसहित बोहरा हराएको उजुरी दिएपछि प्रहरीले खोजी गरेको थियो । खोजतलासका क्रममा बोहरालाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको सुवेदीले बताए ।

बोहरा एक्लै पक्राउ परेपछि प्रहरीले छोराबारे सोधपुछ गरेको थियो । उनले हत्या गरेको बताएपछि प्रहरीले शव देखाउन भन्यो । उनले बताएकै स्थानमा बालकको शव भेटिएको सुवेदीले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us