मान्छेको नाम कुकुर कामी, कुकुरनी कमिनी, फ्याउरे वादी राख्ने हाकिमको हात किन नभाँच्ने ?

काठमाण्डु टुडे २०७९ साउन २३ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २३ साउन– राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले नागरिकता दिने क्रममा नागरिकका नाम पशुकाजस्तै राखिएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

राष्ट्रियसभा बैठकमा सोमबार बोल्दै सुनारले नागरिकता दिने क्रममा प्रमुख जिल्ला अधिकारीले दलित समुदायका नागरिकका नाम पशुका नामजस्तै राख्ने गरेकामा आपत्ति जनाए । उनले दलित भएकै कारण अपमानजनक तवरले मानिसको नाम राख्नेको हात किन नभाँच्ने भन्ने प्रश्न गरे । ‘मान्छेले मान्छेलाई कति विधिसम्म अपमान गर्दोरहेछ र गर्दै आइरहेको रहेछ भन्ने केही जिल्लाको नमूना तथ्य प्रस्तुत गर्छु’सुनारले भने, ‘दैलेखको दुल्लु नगरपालिका–१ निवासी कुलबहादुर वादीको नागरिकताको नामा फ्याउरे वादी ।’

उनले मान्छेलाई फ्याउरे वादी नाम राखेर नागरिकता दिने हाकिम मेघनाथ पाध्याय भएको बताए । दैलेख नारायण नगरपालिका–१० का ६५ वर्षीय एक व्यक्तिको नाम नागरिकतामा सिंगाने कामी राखिएको दृष्टान्त प्रस्तुत गरे । दैलेखकै तत्कालीन मेघलटोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा बनेको एक नागरिकतामा नागरिकता बाहकको नाम कुकुर कामी रहेको उनको भनाइ थियो । ‘परिवारले नाम कविराम कामी भन्दाभन्दै कुकुर कामी भनेर लेखिदिए’, उनले भने ।

‘सिंगाने कामी नाम राखेर नागरिकता दिने सरकारी कर्मचारी को हो ?’, उनले प्रश्न गरे । रुकुमपश्चिमको आठवबस नगरपालिका– ३ का ६१ वर्षका एक व्यक्तिको नाम नागरिकतामा कुत्ता वादी राखिएको उदाहरण पेश गरे । दयाराम शर्मा नामका हाक्किमले मानिसको नाम कुत्ता राखेको भन्दै कारबाहीको माग गरे ।

बागलुङको ताराखोला गाउँपालिका–४ का हस्तबहादुर कामीको श्रीमती सावित्रीको नाम कुकुर्नी कमिनी राखिएको सुनारले बताए । ‘के यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ः ती हाकिमहरू, फटाहाहरु एकथरी मानिसलाई कति घृणा गर्न उद्यत हुँदारहेछन ? नागरिकता लिन जाँदा केरकार र सोधखोज गर्छन्’, उनले भने, ‘दूरदराजका जनताको नाम त्यस्तो लेख्न मिल्छ ?’।

सुनारले अगाडि भने, ‘त्यसरी अपमानपूर्वक नागरिकतामा सही गर्ने हाकिमको हात भाँच्नुपर्छ कि पर्दैन ? यसको जिम्मेवार को ?’
सांसद सुनारले त्यस्ता नागरिकता तत्काल सच्याउन गृहमन्त्रालयलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us