कर्णालीका गैरसांसद मन्त्री लामाको कार्यकाल सकियो

काठमाण्डु टुडे २०७९ साउन २३ गते १४:५३ मा प्रकाशित

सुर्खेत, २३ साउन– कर्णाली प्रदेश सरकारका गैरसांसद मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएको छ ।

डोल्पाका स्थायी बासिन्दा लामा माओवादी केन्द्रको सिफारिसमा गत २३ माघमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए ।

गैरसांसद व्यक्ति प्रदेशसभा सदस्य नभएमा ६ महिनाभित्र अवकाशमा जाने संवैधानिक व्यवस्था छ । लामामाथि मन्त्री भएलगत्तै मुर्ति चोरीको आरोप लागेको थियो ।

यसैबीच माओवादी केन्द्रले लामाको ठाउँमा मन्त्री नियुक्तिको तयारी गरेको छ । सो पार्टीको संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले बैठक बसेर मन्त्रीको नाम सिफारिस गर्ने बताइन् ।

मन्त्रीमा डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us