अर्थसचिव मरासिनीले देउवा र प्रचण्डलाई भनेः मन्त्रीसँग काम गर्न सक्दिन, सरुवा गरिदिनुस्

काठमाण्डु टुडे २०७९ साउन १६ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, १६ साउन– अर्थसचिव मधुकुमार मरासिनी सोमबार पनि मन्त्रालयमा उपस्थित भएनन् ।

सचिव मरासिनी आइतबार पुनः मन्त्रालय फर्किएका नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा पनि अनुपश्चित थिए । पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाण्डु फर्कने तयारीमा हरेका मरासिनी शर्मा मन्त्रीमा फर्कने भएपछि उतै बसेका थिए ।

मरासिनी नआएपछि शर्मालाई राजश्वसचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए । बजेटमा राजश्व र करका दर हेरफेरका लागि बिचौलिया प्रवेश गराएको भन्ने आरोपमाथि छानबिन गर्न गठित समितिले आरोप पुष्टि हुने आधार नभेटिएको प्रतिवेदन बुझाएसँगै शर्मा पुनः मन्त्री बनेका हुन् ।

शर्माले पदबाट राजीनामा दिनुअघि २२ असारमा श्रीमती बिरामी भएको भन्दै मुख्यसचिव शंकरदास बरागीबाट स्वीकृत गराएर अनिश्चितकालीन बिदामा बसेका थिए । तर, मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्टै काममा फर्किए ।

संसदीय समितिमा बयान दिन उपस्थित भएका बेला भने मरासिनीले आरोप लगाइएजस्तो बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नभएको बताएका थिए । समिति सदस्यहरुका अगाडि बयान दिँदादिँदै उनी भक्कानिएर रोएका थिए ।

श्रोतका अनुसार सचिव मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर शर्मा पुनः मन्त्रीका रुपमा फर्किए आफू उनीसँग काम गर्न नसक्ने जानकारी यसअघि नै दिएका थिए ।

शर्मा मन्त्री हुने पक्का भएपछि सोही जानकारी गराएर मरासिनी पोखरा हिंडेका हुन् । उनले आफ्नो अन्यत्रै सरुवा गरिदिन देउवा र प्रचण्डलाई भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us