
काठमाण्डु, १० साउन– नयाँ मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार भने ओरालो लागेको छ ।
नेप्से ४४.८० अंक ले घटेर २०८८.१६ अंकमा पुगेको छ । राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । आइतबार र सोमबार बजार बढ्नुले मौद्रिक नीतिको बजारले स्वागत गरेको देखिएको थियो । तर, मंगलबार सबै उपसमूहमा गिरावट आएको छ । यसो हुनुमा सोमाबार राष्ट्र बैंकले सार्वजनिक गरेको ट्रेजरी बिलमा बैंकहरुले १४ प्रतिशतको ब्याजदर प्रस्ताव गर्नुलाई कारण मानिएको छ
विगतदेखि नै ब्याजदर बढ्दा वा घट्दा सेयर बजार प्रभावित हुँदै आएको छ । मंगलबार सर्वाधिक गिरावट अन्य उपसूचकमा ३.५६ प्रतिशत छ । यस्तै विकास बैंक उपसूचकमा २।९६ प्रतिशत, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचकमा ०.७७ प्रतिशतको गिरावट आएको छ । कारोबार रकम भने सोमबारको तुलनामा मंगलबार घटेको छ ।
८७ लाख ४० हजार ५ सय ५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । १ सय ८१ कम्पनीको सेयर कारोबार भएकामा १ सय ६५ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयरमूल्यमा वृद्धि एक कम्पनीको स्थिर छ । मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य सर्वाधिक ९।३२ प्रतिशतले वृद्धि हुँदा गणपति लघुवित्तको सेयरमूल्यमा ६.८२ प्रतिशतले गिरावट आएको छ ।