मौद्रिक नीतिको सकारात्मक प्रभावले सेयर बजारमा हरियाली

काठमाण्डु टुडे २०७९ साउन ८ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, ८ साउन– सेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

उक्त नीतिमा केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४/१२ को सीमामा हेरफेर गरेको थियो । मौद्रिक नीतिले ४ करोडको सीमा हटाएको थियो भने यसअघि विभिन्न बैंकबाट मात्र १२ करोड कर्जा लिन पाउने व्यवस्था हटाएर एकै बैंकबाट १२ करोड कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । उक्त नीतिलाई सेयर बजारले स्वागत गरेको छ ।

आइतबार नेप्से ६१ अंकले बढेर २ हजार ७८ को बिन्दुमा पुगेको छ । बजारमा कारोबार भएका सबै उपसमूहको सूचकमा हरियाली छाएको छ । वित्त उपसमूह, अतिरिक्त उपसमूह र र विकास बैंक उपसमूहका सेयर मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ ।

वित्त समूहको परिसूचक ७.२२, अतिरिक्त समूहको परिसूचक ६.९३ र विकास बैंक समूहको परिसूचक ५ प्रतिशतले उकालो लागेको छ । २ सय १९ कम्पनीको ६४ लाख २३ हजार १ सय ४६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ पुगेको छ ।
सेन्ट्रल फाईनान्स, समृद्धि फाईनान्स र मल्टीपरपोज फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us