
काठमाण्डु, ६ साउन–साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा २६ अंक बढीले घटेको छ ।
मौद्रिक नीतिको पूर्वसन्ध्यमा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । शुक्रबार नेप्से २७.२६ अंकले घटेर २०१७.४६ अंकमा बन्द भएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत शेयर कारोबारलाई कडाई गर्ने आशंकामा लगानीकर्ता हतोत्साहित हुँदा बजारमा बिक्रीको चाप बढेको हो । सबै उपसूचक ओरालो लाग्दा व्यापार उपसूचकमा सर्वाधिक २.४८ प्रतिशतले गिरावट आएको छ । उत्पादन र अन्य उपसूचक २।१४ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २।१३ प्रतिशतले घटेको छ ।
दुई घण्टा मात्र कारोबार भएको बजारमा १ अर्ब ४४ करोड ३४ लाखको कारोबार भएको छ । शिवम् सिमेन्टको शेयर सर्वाधक २१ करोड बराबर कारोबार भएको छ ।
कूल १ सय ७९ कम्पनीको सेयर कारोबार भएकामा १ सय ६४ कम्पनीको सेयर मूल्य ओरोलो लागेको छ । घट्दो बजारमा १४ कम्पनीको सेयरमूल्यमा भने वृद्धि भयो ।