
काठमाण्डु, २ साउन– नयाँ आर्थिक वर्षको दोश्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९. ४३ पुगेको छ ।
दिनभर उतारचढाव देखिएको नेप्सेमा कारोबारको अन्तिम समयमा एक प्रतिशतको वृद्धि भएको हो । सामूहिक लगानी कोष र व्यापारबाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।
३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाख बराबर कारोबार भएको छ । आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ३५ लाखको कारोबार भएको छ ।
सोमबार बरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९।९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा कारोबार भयो । इमर्जिङ नेपालको सेयरमूल्य ९.६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्यमा सवार्धिक ५.९० प्रतिशतले गिरावट आएको छ ।
कूल १ सय ७९ कम्पनीको सेयर कारोबार भएकामा १ सय ४३ कम्पनीको सेयरमूल्य बढेको छ । २७ कम्पनीको सेयरमूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।