नेताका सालिक निर्माणका लागि साँढे सात करोड

काठमाण्डु टुडे २०७९ असार २५ गते ७:०७ मा प्रकाशित

जनकपुर, २५ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको सालिक निर्माण गर्न ५० लाख, मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको सालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको सालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरुको स्मारक निर्माणका लागि ४० लाख रुपैया छुट्याएको छ ।

विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताए । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us