नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात

काठमाण्डु टुडे २०७९ असार २५ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, २५ असार– नेपालबाट पहिलोपटक सिमेन्ट निर्यात भएको छ ।

पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन तानसेन सिमेन्ट शुक्रबार पहिलोपटक भारत निर्यात गरेको हो ।

यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ । शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो ।

स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । ‘अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ’ उनले भने ।

पाल्पा सिमेन्टले पाल्पाको माथागढी–७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको छ । हाल यो उद्योगले दैनिक एक हजार आठ सय मेट्रिक टन क्लिङ्कर र करिब तीन हजार मेट्रिक टन सिमेन्ट (जडित क्षमताका आधारमा) उत्पादन गर्दै रहेको छ ।

वर्षोंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले त्यसलाई सम्बोधन गरेको थियो । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us