राजेश हमालले प्रचण्डलाई भनेः तपाईं निराश हुनुपर्ने अवस्था छैन

काठमाण्डु टुडे २०७९ असार १७ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १७ असार– महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निराश नहुन आग्रह गरेका छन् ।

हमालले शुक्रबार बिहान उनकै निवास खुमलटारमा भेटेका थिए । भेटमा हमालले विश्व राजनीति हेर्दा सन्तोष गर्ने ठाउँ नभए पनि नेपालको अवस्थाका कारण निराश नै हुनुपर्ने अवस्था नरहेको बताए । ‘विश्व राजनीति हेर्दा धेरै खुसी हुने अवस्था छैन’, हमालको भनाइ उद्धृत गर्दै भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने, ‘तपाईंले देशका लागि धेरै गर्नुभएको छ, निराश नहुनुहोला ।’

हमालले प्रचण्डकै कारण देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता उपलब्धी प्राप्त भएको चन्दै तिनलाई संस्थागत गर्ने विषयमा ध्यान दिन आग्रह गरे । उपलब्धी संस्थागत नभई मुलुकको विकास नहुने उनले बताए । हमालले नेपाललाई विदेशी चलचित्र छायाङ्कनको हब बनाउन सकिने भए पनि राजनीतिक नेतृत्वले त्यसको वातावरण बनाउन पहल नगरेको गुनासो पोखे ।

यस्तै नेपाली हलमा खुलेआम विदेशी चलचित्रको प्रदर्शन भइरहेको भन्दै उनले विदेशी चलचित्रलाई करको दायरामा ल्याउन आग्रह गरे । ‘नेपालमा खुलेआम विदेशी चलचित्रको दबदबा छ’, हमालले भने, ‘उनीहरु नेपालमा कर तिर्दैनन्, तर चलचित्र बेचेर करोडौं नेपाली रुपैयाँ बाहिर लैजान्छन् ।’ हमालले अर्थमन्त्री जनार्दन शर्माको पनि आलोचना गरे ।

विदेशी चलचित्रलाई करको दायरामा ल्याउनुपर्ने चलचित्र क्षेत्रको मागलाई अर्थमन्त्रीले बजेट निर्माणका क्रममा बेवास्ता गरेको आरोप लगाए । फरक प्रसंगमा उनले माओवादी शान्ति प्रक्रिायमा आएपछि चलचित्रकर्मीले खुलेआम राजनीति गर्न थालेको बताए । ‘कलाकारहरु पहिला लुकेर राजनीति गर्थे । तपाईंहरु शान्ति प्रक्रियामा आएपछि खुलै राजनीतिमा आउन थाले’, हमालले भने । उनले कलाकार राजनीतिमा सक्रिय हुनुलाई नराम्रो मान्न नहुने बताए । तर, आफूलाई तत्काल रानजीतिमा सक्रिय मनस्थितिमा नरहेको स्पष्ट गरे ।

प्रचण्डले भने राजेशलाई पहिल्यै भेटन चाहे पनि नमिलेको बताए । लामै समय कुरा गर्न मन रहेको भन्दै उनले फेरि एकपटक भेट्न आउन पनि निम्ता दिए । ‘तपाईंलाई मैले धेरै पहिला भेट्न चाहेको थिएँ । लामै समय कुराकानी गर्न पनि मन छ’, प्रचण्डले भने, ‘तर अहिले समय कम छ ।’ सामूहिक रुपमा २० मिनेट कुराकानी भएपछि प्रचण्ड र महालले १५ मिनेट एक्लाएक्लै कुराकानी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us