भरतपुरमा बागीलाई भेटेर रामचन्द्र पौडेलले भनेः रेणु हाम्रै उम्मेदवार हुन्, तपाई पछि हट्नुस

काठमाण्डु टुडे २०७९ वैशाख २२ गते ९:३५ मा प्रकाशित

चितवन, २२ वैशाख– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् ।

सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले जगन्नाथलाई आफू बसेको होटलमा बोलाएर भेटेका हुन् । श्रोतका अनुसार नेता पौडेलले विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई जिताउने प्रतिबद्धता जनाउन आग्रह गरेका छन् ।

नेता पौडेलले केपी ओलीले संविधानमाथि पटकपटक प्रहार गरेपछि संविधान र व्यवस्था जोगाउन गठबन्धन गरिएको भन्दै रेणु दाहाललाई सघाउन आग्रह गरेका थिए ।

तर, पौडेलले भरतपुरका काँग्रेसले काँग्रेसलाई नै भोट हाल्न पाउनुपर्ने पक्षमा आफू उभिएको भन्दै उम्मेदवारीबाट पछि नहट्ने जवाफ दिएका छन् । काँग्रेसले रेणुलाई मेयरमा समर्थन गर्ने निर्णय गरेकामा असन्तुष्ट राष्ट्रियसभाका पूर्वसदस्य पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी हालेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलगायतले भरतपुर पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन मनाउने कोसिस गरेका थिए ।

तर, पौडेलले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन् । श्रोतका अनुसार चुनावी सभालाई स्म्बोधन गर्न चितवन पुगेका काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पौडेललाई भेटेर उम्मेदवारी निस्क्रिय बनाउन आग्रह गर्ने तयारी गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us