
चितवन, ३ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनबीच (भोलि) आइतबारसम्म स्थानीय तहमा उम्मेदवारको टुंगो लाग्ने दाबी गरेका छन् ।
प्रचण्डले आजै साँझसम्म कुन पालिकामा कसले नेतृत्व लिने भन्नेबारे मोटामोटी खाका तय हुने बताए । ‘आज साँझसम्म सिफारिस गर्न भनिएको छ’, भरतपुर विमानस्थालमा शनिबार बिहान सञ्चारकर्मीसँग उनले भने, ‘भोलिसम्म हामी एउटा टुंगोमा पुगिसक्छौं ।’
प्रचण्डले निर्वाचनका समयमा एउटै दलभित्र समेत उम्मेदवारी टुंगो लगाउन जटिल हुने भन्दै गठबन्धनमा समस्या हुनु स्वभाविक भएको टिप्पणी गरे ।
प्रचण्डले भरतपुर महानगरको नेतृत्व किन टुंगो लागेन भन्ने प्रश्नमा छिट्टै सहमति हुने जवाफ दिए । ‘सबैतिर आरामसँग टुंगो लाग्छ’, उनले भने, ‘भरतपुरको बारेमा पनि छलफल भइरहेको छ ।’
माओवादी केन्द्रले हालकै मेयर प्चण्ड पुत्री रेणु दाहाललाई निरन्तरता दिने निर्णय गरिसकेको छ । सत्तारुढ काँग्रेसको जिल्ला कार्यसमितिले मेयर आफूले पाउनुपर्ने भन्दै अन्यथा भए बागी उम्मेदवारी दिने चेतावनी दिँदै आएको छ ।