काठमाण्डु, १३ चैत– नेपाल भ्रमणमा रहेका चिनियाँ राज्यपरिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले नेपाललाई भू–राजनीतिक खेलमा संलग्न गर्ने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको चीनले विरोध गर्ने चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बताउनु भएको छ।’ नेपाली समकक्षी नारायण खड्कासँगको भेटमा उनले हालै पारित भएको एमसीसीको नाम उच्चारण नगरी यस्तो टिप्पणी गरेका हुन्।