
काठमाण्डु, १९ फागुन– नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द विप्लवको प्रवेश भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन् । यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी र नेपालबीच भएको अनुदान सम्झौता माओवादी केन्द्रका अध्यक्ष दाहालसमेतको अग्रसरतामा प्रतिनिधिसभाबाट अनुमोदन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष दाहालले एमसिसी सम्झौता अनुमोदन गर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गर्ने सात सांसदलाई कारबाही गर्नुपर्ने, एमसिसी सम्झौताको विपक्षमा रहेका नेता श्रेष्ठ पार्टी छाड्न स्वतन्त्र रहेको र पार्टी छोड्दा वामदेव गौतमको जस्तै हालत हुने भनेपछि विवाद बढेको हो ।
दाहालको यस भनाइले आफ्नो अपमान भएको श्रेष्ठले बुझेका छन् । माओवादी केन्द्र दलीय रुपमा एमसिसी सम्झौताको पक्षमा उभिएपछि श्रेष्ठलगायत केही नेताले त्यसको विपक्षमा अभिव्यक्ति दिएका थिए ।
एमसिसी सम्झौता अनुमोदनको विषयलाई लिएर अध्यक्ष दाहालसँग मतभेद उत्पन्न भएपछि नेता श्रेष्ठले मंगलबार आफूनिकट नेताहरूसँग परामर्श गरेका थिए । उनले मंगलबार नै वामदेव गौतम र झलनाथ खनालसँग पनि छलफल गरेको बताइएको छ तर यसको पुष्टि हुन सकेको छैन ।
पार्टीभित्र आफूनिकट नेताहरूसँग परामर्श गरेको अर्को दिन श्रेष्ठले विप्लवलाई भेटेर सहकार्यको प्रस्ताव राखेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि विचार मिल्ने र राष्ट्रियताको सवालमा मत मिल्नेसँग सहकार्य हुन सक्ने भन्दै त्यसका लागि श्रेष्ठसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ । नागरिक दैनिकबाट