
काठमाण्डु, १८ फागुन– नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे । दर्जनौं पटक नेपाली टोली जापान गए । जापानी अधिकारी नेपाल आए । चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो ।
जाइका परियोजना कार्यान्वयन गर्न तयार भयो । परियोजना सम्झौता गरेर निर्माण चरणमा प्रवेश गर्न लाग्दा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले परियोजनाको लागत महँगो भएको भन्दै रोके । जापानले ४० वर्षमा तिर्ने गरी ०.०१ प्रतिशत ब्याजमा सडक बनाउने प्रस्ताव गरेको थियो ।
त्यसपछि महासेठकै पार्टी नेकपा एमालेबाट वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । महासेठले रोकेको सडक बनाउन आवश्यक छ भन्दै नेम्वाङले अघि बढाउने प्रयत्न गरे ।
उनले नेपालका लागि जापानका राजदूतलाई पनि पटकपटक अनुरोध गरे । मन्त्री मात्र नभएर सडक विभागका सबै अधिकारी सडक बनाउनुपर्ने पक्षमा उभिए । लामो समय र ठूलो धनराशि खर्च गरेर अध्ययन गरेको परियोजना रोक्ने मन्त्री महासेठको निर्णयबाट जापानी टोली बिच्किए । त्यसपछि नेपाल सरकारले अनुरोध गरे पनि उक्त परियोजना अघि बढाउन जापान तयार भएको छैन । नागरिक दैनिकबाट