
काठमाण्डु, १६ फागुन– काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो ।
तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ । सरकारले प्रतिनिधिसभामा टेबुल गरेको एमसिसी प्रस्तावको विपक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अनुमोदन गर्ने पक्षमा जुटेको थियो । उसले एमालेसँग नयाँ सत्ता समीकरण गर्नेसम्मको सोच पनि बनाएको थियो ।
एमालेले एमसिसी सम्झौता अनुमोदनमा प्रधानमन्त्री देउवालाई सघाउन सकिने जवाफ दिएका थिए । तर त्यसका लागि उनले सभामुख अग्निप्रसाद सापकोटालाई कारबाही वा एमालेबाट अलग भएका १४ सांसदलाई कारबाहीको सर्त अघि सारेका थिए। यिनै माग राखेर उसले गत भदौदेखि संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेस र प्रधानमन्त्री देउवाले एकातिर एमालेसँग संवाद र अर्कोतिर सरकारले ल्याएको प्रस्तावको विपक्षमा गठबन्धनकै दल उभिए मान्य नहुने बताएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्न तयार भएका हुन् ।
सत्ता गठबन्धन टुट्ने सम्भावना बढ्दै गएपछि त्यसलाई जोगाउने र एमसिसी पनि पारित गर्ने उपायका रूपमा व्याख्यात्मक घोषणा ल्याइएको हो । नागरिक दैनिकबाट