सुरक्षाकर्मीको कपडा नेपालमै उत्पादन

काठमाण्डु टुडे २०७८ फागुन १५ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, १५ फागुन– सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न थालिएको छ ।

चालू आर्थिक वर्षका लागि सुरक्षाकर्मीका लागि आवश्यक पर्ने युनिफर्मको कपडा वीरगञ्जमा रहेका दुईवटा कपडा उद्योगले तयार गरिरहेका छन् । सुरक्षा निकायबाट प्राविधिक अनुगमन, परीक्षण र स्वीकृतिपछि वीरगञ्जमा रहेका क्राउन टेक्सटाइल्स प्रालि र कोहिनुर टेक्सटाइल्स् प्रालिले विगत तीन महिनादेखि सुरक्षाकर्मीका कपडा तयार गरिरहेको छ ।

भारतबाट कच्चापदार्थ ल्याएर क्राउन टेक्सटाइल्सले कपडा बुन्छ भने कोहिनुर टेक्सटाइल्सले उक्त कपडामा बुट्टा भर्ने प्रिन्ट गर्छ । “तीन महिनादेखि हामी दुईवटा उद्योग मिलेर सुरक्षाकर्मीको पोसाकको कपडा उत्पादन गर्दै आएका छौँ,” क्राउन टेक्सटाइल्सका सञ्चालक पीताम्बरकुमार मुनकाले भने ।  नेपाली सेना र सशस्त्र प्रहरीको प्राविधिक टोलीले उद्योगको निरीक्षण गरी गुणस्तर प्रमाणित गरेपछि यी उद्योगले उत्पादन सुरु गरेको मनकाले बताए । यी उद्योगले कपडा उत्पादन गर्न चाहिने धागो, रङ्ग र रसायन भारतबाट ल्याउँछन् । यसबाट उत्पादन भएको कपडामा लुपेजर मेसिनबाट प्रिन्ट गर्छन् ।

कपडा आपूर्तिका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने, “स्वदेशी उत्पादन १५ प्रतिशत महँगो भए पनि खरिद गर्न सकिने नीतिअनुसार हामीले प्रक्रिया अगाडि बढाएको हौँ ।”

अब मुलुकका करिब दुई लाख १५ हजार सुरक्षाकर्मीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गरी आपूर्ति हुने भएको हो । चालू आर्थिक वर्ष नेपाली सेनाले छ लाख, सशस्त्र प्रहरीले तीन लाख पचास हजार र नेपाल प्रहरीले दुई लाख ७० हजार मिटर कपडा माग गरेका छन् । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us